Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

घोराहीमा मगर संघले ‘माघे मेला–२०८२ स्थानिय झाँकी सहित , प्रदेश मन्त्रिको उपस्थितिमा उद्घाटन गदैं

दाङको घोराहीमा आजदेखि दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ सुरु हुँदै छ । नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको संरक्षकत्व तथा संघको घोराही उपमहानगर कार्यसमितिको आयोजनामा हुने मेलाको औपचारिक उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

संघको बहुउद्देश्यीय सांस्कृतिक भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको मेलाको पहिलो दिन आज बिहान ११ बजेदेखि घोराही बजारमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिनेछ । शोभायात्रा लखनपार्कबाट सुरु भई घोराही बजार परिक्रमा गर्नेछ । आयोजक संघका घोराही अध्यक्ष बेदबहादुर बुढाका अनुसार यसले मेलाको उत्सवमय सुरुवात हुनेछ ।

पहिलो दिनको सांस्कृतिक कार्यक्रममा सोनी डान्स ग्रुपको विशेष प्रस्तुति रहनेछ भने कलाकार माधव जोन खत्री र रुपा घर्ती मगरले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने सांस्कृतिक संयोजक गोपाल घर्ती मगरले जानकारी दिए । मेलाभरि डान्स आइडल, टिकटक प्रतियोगिता र दोहोरी प्रतियोगितासमेत सञ्चालन गरिनेछ ।

माघ १० गतेसम्म सञ्चालन हुने मेलामा करिब २०० वटा स्टल रहनेछन् । तीमध्ये कृषि, स्थानीय उत्पादन तथा विभिन्न संघसंस्थालाई प्राथमिकता दिँदै ५०–५० वटा स्टल छुट्याइएको छ । स्थानीय व्यवसाय प्रवद्र्धनलाई ध्यानमा राख्दै घोराहीभित्रका व्यवसायीलाई स्टल शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको नगर अध्यक्ष बुढाले बताए ।

मेलाको अर्को प्रमुख आकर्षणका रूपमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ । मौलिक नृत्य, परम्परागत भेषभूषा, स्थानीय खानाका परिकार, हस्तकला तथा पर्यटन प्रवद्र्धनसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनीले मेलालाई अझ रंगीन बनाउनेछ । दर्शकको आकर्षणका लागि आइफेल टावर, जलपरी र लण्डन ब्रिज जस्ता आकर्षक संरचनाहरू पनि निर्माण गरिएको आयोजकले जनाएको छ ।

प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ । क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि ८० रुपैयाँ र ५ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

न्यू रोल्पाली डाँगी स्टोर, तुलसीपुर मुख्य प्रायोजक रहेको मेलाको संरक्षकमा घोराही उपमहानगरपालिकाको कार्यालय र नेपाल मगर संघ दाङ जिल्ला समन्वय समिति रहेका छन् । स्थानीय पर्यटन प्रवद्र्धन, कला–संस्कृतिको संरक्षण तथा आर्थिक गतिविधि सशक्त बनाउने उद्देश्यसहित आयोजना गरिएको माघे मेलामा उपस्थित भई अवलोकन तथा सहभागिताका लागि आयोजकले सबैलाई हार्दिक निम्तो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.