दाङ,
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजनामा “लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२” आयोजना हुने भएको छ।
महासंघले आइतबार पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै स्थानीय तथा स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सृजना र उद्यमशीलताको विकास मुख्य उद्देश्य रहेको जनाएको छ ।
महोत्सव दाङको घोराही उपमहानगरपालिका–१४, भिगौंरामा २०८२ साल फागुन २८ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजकका अनुसार महोत्सवमार्फत लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी, किसान, युवा, महिला तथा कलाकारलाई एउटै मंचमा जोड्ने लक्ष्य राखिएको छ । त्यस्तै कृषि, पशुपालन र पर्यटन क्षेत्रको आधुनिकीकरण, सांस्कृतिक संरक्षण तथा सामाजिक सद्भाव अभिवृद्धि गर्दै आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सव अवधिभर हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विभिन्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । सामाजिक चेतना अभिवृद्धि, उद्यमशीलताको प्रवर्द्धन तथा स्थानीय उत्पादनको प्रचारप्रसारका लागि विशेष दिनहरू निर्धारण गरी कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम सफल बनाउन महासंघका सल्लाहकार तथा विभिन्न संयोजकहरू सक्रिय रूपमा खटिएका छन् भने प्रमुख कार्यक्रम संयोजकको जिम्मेवारी शरद अधिकारीलाई दिइएको छ ।